Thursday, January 19, 2017

गनगन...

पुज्यनिय बाबा,
साष्टङ्ग दण्डवत ।

धेरै दिनदेखिको मनको उकुसमुकुस शान्त पार्ने प्रयत्न गर्दै छु। विश्वा छ तपाईं जहाँ हुनुहुन्छ,खुशी हुनुहुन्छ, मुस्कुराउदै हुनुहुन्छ। सम्झनाको सिरानी र बाडुल्कीको अलार्मले निदाउन नसकेपछी आधुनिक मेशिनबाट मनरुपी अक्षरहरु कोर्दै छु। नसोच्नु पिडामा छ, खुशीमा नि मान्छे निदाउन सक्तैन रहेछ। यो भन्दा पहिले कहिल्यै महसुस गरेको थिइन-यो अनौठो एहसास।

आज फेरी बाल्यकालको न्यास्रो लागेको छ, जुन चाहेर पनि म फर्काउन सक्दिन। याद छ , घरको आँप भन्दा मिठो रै'छ भनेर बाटो पारी साथीहरुको घरमा हुरिले झारेका आँप चुस्दै आउथें म । ठीक आँप जस्तै सम्बन्धको महत्व पनि अभाबले महसुस गराउदो रहेछ, बाबा। आफन्तहरु फोनमा गुनासो गर्नुहुन्छ कि मैले उहाँहरुलाई कहिल्यै सम्झिन भनेर। म भन्दा हरेक तवरबाट अग्रज उहाँहरुलाई थाहा छैन होला र!-नदिले बहाबलाई सम्झनु पर्दैन, मुटुले धड्कनलाई सम्झनु पर्दैन, आगोले तापलाई सम्झनु पर्दैन, समुन्द्रले गहिराईलाई सम्झनु पर्दैन, पानीले शितलतालाई सम्झनु पर्दैन अनि प्रेमले निकटतालाई सम्झनु पर्दैन। सम्झना त तिनलाई आवश्यक पर्छ जसलाई बिर्सने डर हुन्छ। वा केही गुमाउने लालसाले ब्याकुल पारेको हुन्छ। सत्य सत्य राजधानी आएपछि, आफ्नाको भाषामा अलि स्वार्थी भएको छु रे!, एकोहोरिएको छु रे!, निमोठिएको छु रे!, मात्तिएको छु रे!। हाँसो लाग्छ बाबा, मात्तिएको म हुँ भने खुट्टा ठाउँमा किन छन्?, निमोठिएको म हुँ भने मेरो सोझोपनमा निर्दोष केटाकेटी किन मुस्कुराउँछन्? एकोहोरिएको म हुँ भने डाक्टरले मानसिक रोगी करार किन गर्दैन? स्वार्थी म हुँ भने आफन्तहरु दयावान् किन हुन सक्तैनन्? बाबा, समय घडीभन्दा छिटो दौडिरहेछ, यहाँ मान्छेहरु भने हातमा समय कैद गरेको भ्रम पालेर जिइरहेछन्। यहाँ मनले माया गुमाउदो छ, मान्छेहरु भने पैसाको बैभवतामा लठ्ठ छन्। र पनि सुनाउन छाड्दैनन् "माया बिर्सिस्" भनेर, "अलि चढिस्" भनेर। क्या गज्जब छ दुनियाँ।

"अफ्ठ्यारोमा मान्छे चिन्नु पर्छ" भनेर त तपाईं नै सुनाउनु हुन्थ्यो मलाई जब मलाई अफ्ठ्यारोको परिभाषा नै थाहा थिएन। आज महसुस गर्दै छु। "जिन्दगीका थुप्रै रङ्गहरु हुन्छन्" भन्नुहुन्थ्यो। आज साक्षात्कार गर्दै छु। जबजब मान्छे आफुलाई मात्र देख्दो रहेछ, दरार सिर्जना हुँदो रहेछ। जबजब मान्छेले "मेरो" भन्दो रहेछ, बन्धन टुक्रिदा रहेछन्। बाबा, यहाँ भन्नेहरु त सुनाउँछन् 'फलानोले के गर्‍यो र?" भनेरयस्तो लाग्छ कि कोही एकको जिन्दगी चुलेसीमा च्यापिदाको अनुभव उनीहरुसंग होस्; शान्त रातमा छट्पटिले छाती जल्दा उनिहरु स्वयं जलेका हुन्; एक्लै बिरक्त्तिएर बाटो बिराउदा उनिहरु लौरो बनेर मार्गनिर्देश गरेका हुन्। आफ्ना भन्दा आफ्ना मान्छेहरु, कसरी सम्बन्धको किल्ला गाड्दा रहेछन् र पराई बन्दा रहेछन् भन्ने कुराको अनुभब गर्दै छु। सायद बाबा, तपाईंले भनेजस्तै जिन्दगी यही हो - जहाँ घाम र पानी सँगसँगै हुन्छ र इन्द्रेनीको उपस्थिती ज्ञात हुन्छ।

बाबा, जिन्दगी बिताउन बन्धन निभाउनु पर्छ भन्छन् अरु सबै। खै किन लाटो मलाई भने जिन्दगी बिताउन बन्धन भन्दा विश्वाश सजाउनु पर्छ झै लाग्छ। सायद मै गलत हुँला। बाबा म अज्ञानी अबुझले कहिल्यै सुनिन- बादलले बर्षातलाई, आँखाले आँशुलाई, हिराले चमकलाई, रगतले प्राणलाई अनि सपनाले बिहानीलाई केही गरेन भनेर गुनासो गरेको; तर यहाँ आफन्त आफन्त नै सराप्दा छन्। सायद "मान्छे चिन्ने" भनेको यही होला। जिन्दगी कस्तो रहस्यमय- मोनालिसाको चित्र जस्तै।

यो दुनियाँ, बाबा, जहर खुवाएर स्वाद सोध्छ। पिडा र दु:ख थुपारेर जिम्मेवारीको पगरी चढाउछ। सपना सजाउन लगाएर जगाउछ। मुस्कुराउनु पर्छ भनेर निजत्व हडप्छ। यो त सगरमाथाको सम्मान भनेर सगरमाथाकै शिरमा लात्ती बजारेजस्तो भएन र! शिवभक्त हुँ भनेर गाँजा र चरेसको तस्कर भएजस्तै भएन र! खैर जे होस्, अनेकन यस्तै पिरलोहरु बिचमा म "मनमौजी" जीवन बाँचेको छु। मेरो बदनामी गर्दा रमाउनेहरु मेरो लागि समय खर्चिएकोमा नतमस्तक छु। म उदास हुँदा ढाडस दिनेहरुले मेरो मन बाँडेकोमा आभारी छु। अनि कहिल्यै सम्झन नपरेकाहरु बिना गुनासो मलाई अपनाएकोमा कृतकृत्य छु।


असिम एवं अनन्त प्रेम, बाबा ।

0 comments:

Post a Comment

My Youtube Channel

1. +2 Content

Blog Archive

Page Views

Powered by Blogger.