Sunday, January 1, 2017

कथा परदेशीको...


कुहिरोलाई छल्दै नानी “बाबा” भन्दै होली
प्रियाले नि बाटो हेर्दै आँशु झार्दै होली
बुढेसकालमा बाबुआमा कस्ता भए होलान्?
सम्झी सम्झी मलाई नै कति रोए होलान्?

सर्वस्व नै धन भनि मुग्लान छिरि आए
गधाले नि नपाउने दु:ख मात्र पाए
लाग्छ अचेल जीवन सारा मिथ्या मात्र हो कि
कसले के नै लान्छ क्यारे मर्दाखेरि बोकी

एक पछि अर्को इच्क्षा मन नरित्तिने
जति भए पनि वशमा अझै चाहिदिने
स्वार्थी, पापी रैछ संसार मैले बुझिनछु
मनै तृप्त पार्ने खुशी कहिल्यै खोजिनछु

झिलिमिली संसारमा जीवन सकाए बाबा!
हातै रित्तो, मनै रित्तो अब अघाए आमा!
हात जोडी बिन्ती गर्छु माफ गरिदिनु
खोक्रो मनमा माया भर्न अघि सरिदिनु

नानीलाई पढाई-लेखाइ ठुलो बनाउनु
बाबुआमासँग प्रिया सधैं मुस्कुराउनु
धनभन्दा ठुलो रैछ बुझेदेखि मन
आत्मा खुशी पारेदेखि खुशी हुन्छ तन ।।


0 comments:

Post a Comment

My Youtube Channel

1. +2 Content

Blog Archive

Page Views

Powered by Blogger.