Wednesday, January 4, 2017

देवकोटाका केही बालकविता : व्यक्तिगत र प्रशासनिक वितृष्णा


     नेपाली साहित्य इतिहासमा बालकबिता लेखनको परम्परा शुरु भएको त्यत्ति लामो समय भएको छैन । “वि.सं. १९५८ मा देवशमशेरको शासनकालमा उपत्यकाभित्र पचासवटा र उपत्यकाबाहिर एक सयवटा भाषा पाठशालाहरुको स्थापना भएपछि ती पाठशालाहरुमा पढाइने पाठ्यपुस्तकका रुपमा बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले लेखेको ‘अक्षराङ्क शिक्षा’ पाठ्यपुस्तक नै पहिलो पाठ्यसाम्रगी बन्यो ।”(१०)1 औपचारिक रुपमा वि.सं. १९५८ लाई नै आधारविन्दु मान्ने हो भने करिब एक शतकभन्दा बढी समयावधि नेपाली बालकविताले बिताएको देखिन्छ ।
बालबालिकाको कलिलो मस्तिष्क र उनीहरुको रुचिलाई ध्यान दिएर लेखिने बालाकविताका सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटाको नाम अग्रस्थानमा रहेको छ ।  वि.सं. १९६६ साल कात्तिक २७ गते जन्मिएर वि.सं. २०१६ साल भदौ २९ गते भौतिक रुपमा यस संसारबाट बिदा लिएका देवकोटाले आफ्ना बालकवितामा व्यक्तिगत  जीवन र तत्कालीन व्यवस्थाप्रतिको वितृष्णा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा व्यक्त गरेको पाइन्छ । राणा शासनकालको पछिल्लो समय र प्रजातन्त्रको अघिल्लो समय प्रत्यक्ष रुपमा देखेका र भोगेका देवकोटाले बालकविता लेखनमा तत्कालिन समयको चित्रण र आफूले गरेका थुप्रै संघर्षको वर्णन प्रत्यक्ष–अप्रत्यक्ष रुपमा गरेका छन् ।
विलियम वर्डस्वर्थ (१७७०–१८५०) का अनुसार– “कविता भनेको शान्तिका क्षणमा सम्झना गरिने मनका सशक्त आवेगहरुको स्वच्छन्द प्रवाह हो ।”(२१३) 2  सोही चेतबाट देवकोटा पनि अभावित छैनन् भन्ने कुरा उनका सृजनात्मक रचनामा, बालबोलिमा, प्रकृतिका अव्यक्त नादमा, प्राकृतिक दृश्य तरङ्गामा केन्द्रित रहेर सिर्जनात्मक चिन्तन प्रक्षेपण गरेबाट स्पष्ट हुन्छ । स्वच्छन्दतावादी कविका रुपमा चिनिएका कवि देवकोटाका सिर्जनाहरुमा मानवता र प्रकृतिप्रेम झल्किन्छ नै, गहिराइमा अर्धचेतन मस्तिष्कमा संग्रहित तत्कालिन प्रशासनिक व्यवस्थाको आर्तनाद पनि झल्किन्छ । आर्थिक गरीवीको उच्च अवस्थालाई सामना गर्दै शिक्षामन्त्री (वि.सं. २०५३) जस्तो उच्च पदमा रहि देशको सेवा पनि गरेका र जिन्दगीका उकाली ओरालीलाई आफ्ना बालकवितामा बिम्बित गरेका देवकोटा बालसाहित्यकारको रुपमा विरलै चिनिए पनि बालबालिकालाई नै भनि लेखिएका र प्रकाशित गरिएका कृतिहरु जस्तै :– राजकुमार प्रभाकर (१९९७), पुतली (२००९), सुनको बिहान (२०१०) र फुटकर कविताले बालसाहित्यमा देवकोटाले पु¥याएको अतुलनीय योगदानलाई किमार्थ भूल्न सकिदैन ।
            लक्ष्मीप्रसाद देवकोटा प्रारम्भिक लेखनका कवितामा नै बालोपयोगी रचनाशिल्प र अभिव्यक्ति कलाको प्रयोग भएको पाइन्छ । तर देवकोटाले बालजगत्लाई नै पाठक जमात बनाएर लेखेका साहित्य रचनाहरु प्नि व्यक्तिगत र प्रशासनिक वितृष्णा जस्ता निकै जटिल र उच्च बौद्धिक स्तरका विषयबस्तुको प्रवेश भइदिनाले देवकोटाको बालसाहित्य लेखनका सन्दर्भमा बेला बेलामा प्रश्न नउठेको पनि होइन । युवा जमात्ले पनि बुझ्न हम्मे हम्मे पर्ने विशिष्ट शब्दावलीहरु, बिम्बहरु, भाव बिन्यास र प्रस्तुतीकरण बालकवितामा भइदिनाले बालबालिकाले बुझ्न गाह्रो भई त्यस्ता रचनाहरु ओझेलमा पर्न गएको भान समेत हुने गरेको छ ।
     प्रकाशनका दृष्टिले लक्ष्मीप्रसाद देवकोटाको पहिलो बालकविता सङ्ग्रह पुतली (२००९) हो भने दोस्रो बालकविता सङ्ग्रह सुनको बिहान (२०१०) हो । पन्ध्रवटा बालकविताहरु राखिएको पुतली र उन्नाइसवटा बालकविताहरु राखिएको सुनको बिहान बालकविता सङ्ग्रहमा कवि देवकोटाले बालबालिकाको उमेर हद, ग्रहणशीलता, परख क्षमता, बालोपयोगी वस्तु–भाव, बाल मनोविज्ञान, सामाजिक संरचना आदिलाई ध्यान दिँदा दिँदै पनि आफ्नो अचेतन मानसपटलमा रहेको जीवनका थुप्रै घाउहरु र त्यसबेलाको देशको स्थिति अनि प्रशासनिक व्यवस्थालाई पृथक राख्न सकेका छैनन् । जसको परिणामस्वरुप बालकविता बालबालिकाको मनोञ्जन र अध्ययन क्षेत्र भित्र सिमित मात्र नभई युवापुस्ता र बौद्धिक बर्गको समेत चासो र अध्ययनको विषय बन्न पुगेको छ । निजी आवेग र अन्तरङ्ग अनि जिन्दगीका थुप्रै पडाउहरु बालकवितामा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा चित्रण भएकामध्ये एउटा बालकविता हो – मास्टरजी ।   लक्ष्मीप्रसाद देवकोटा स्वयं पटनाबाट कानुनशास्त्रमा स्नातक गरेर स्वदेश फर्किएपछि परिवार र आफ्नो पेट पाल्नको लागि उनले दिनमा १४ घण्टासम्म ट्युसन पढाए । उनकै व्यक्तिगत जीवनसँग मिल्नेगरी लेखिएको मास्टरजी बालकविता धेरै ट्युसन पढाउने मास्टरको प्रसङ्गले लक्ष्मीप्रसाद देवकोटा स्वयंलाई प्रतिविम्वित गरेको पाइन्छ
     ज्यादै घाम परीकन मुखमा ट्युसन गर्दा तीन हजार ।
काला हाम्रा मास्टरजीछन् तर सुइँखुट्टे सारसंसार ।। (७–८) 3
एउटा शिक्षक (मास्टर) रहरले र  धनी बन्ने लालसाले मात्र ट्युसन पढाउदैन ; उसका आफ्नै बाध्यताहरु पनि हुन्छन् । गरीबीले पिल्सिएको सुइँखुट्टे शरीर पाल्नको लागि एउटा शिक्षक ट्युसनमा आशक्त हुनुपर्ने बाध्यता माथिका हरफबाट स्पष्ट हुन्छ । यिनै दुई हरफबाट तत्कालिन ‘नेपाली’ को आर्थिक अवस्था कस्तो थियो भन्ने कुरा आंकलन गर्न पनि मद्दत गर्दछ । शिक्षक भएर पनि जीवन निर्वाहको लागि ट्युसन पढाउनु पर्ने बाध्यात्मक परिस्थितिको सामना स्वयं लक्ष्मीप्रसाद देवकोटाले व्यक्तिगत जीवनमा गरे जसको परिणामस्वरुप उनले लेखेको बालकविता उनीबाट र उनको जीवनबाट भिन्न रहन सकेन । सतहमा, प्रायजसो शिक्षकहरु पैसाको लागि ट्युसन पढाउछन्, दौडधूप गर्छन् । त्यसैले घामले डढेर काला र पातला हुन्छन् भनेर बुझे पनि भित्री गहिराइमा गरिवीको उच्च पिडालाई सुल्झाउन आफू नमर्दासम्म कर्म गर्नबाट पछाडि हट्नु हँुदैन भन्ने नै हो । आफूले भोगेको र सिकेको यथार्थलाई कवि देवकोटाले बालकवितामा एवम्रितले उतारेको पाइन्छ ।
     कवि देवकोटाले आफ्ना निजी भोगाइहरु बालकवितामा उतार्ने मात्र काम गरेनन् बरु तत्कालिन समयको पृष्ठभूमि, राणाशासन र शैक्षिक प्रतिबन्ध, जसले गर्दा एउटा निसासमान युगलाई झेल्नुप¥यो , सो युगलाई समाप्त पार्न र देशको अस्तित्व बचाउन आफ्ना पाउहरु सदैव अगाडि बढाउनुपर्छ भन्ने देशभक्ति चेतना समेत उनका बालकवितामा व्यक्त भएको पाइन्छ । सुनको बिहान बालकविता सङ्ग्रहमा सङ्ग्रहित किताब–चरो शीर्षकको बालकविताले राणाशासन कालको झझल्को दिएको पाइन्छ । वि.सं. १९८६ ताका जब बौद्धिक युवा जमातले एउटा सार्वजनिक पुस्तकालय बनाउने निर्णय परिणामस्वरुप त्यतिबेलाका राणा शासकले थुप्रैलाई देशनिकाला गरे र केहीलाई रकम लिएर छाडिदिए । त्यस्तो प्रशासनिक व्यवस्थाप्रति वितृष्णा प्रकट गर्दै र शिक्षाको महत्वलाई प्रकाश पारेर लेखिएको उक्त बालकविताले तत्कालिन समयको प्रतिनिधित्व गरेको पाइन्छ । पटना, बनारस, लन्डन जस्ता ठाउँहरुको वर्णन गरिएको उक्त बालकविताले देशभित्रको शैक्षिक स्थिति निकै दयनिय रहेको आंकलन गर्न मद्दत गर्दछ साथै “कति मोज छ चढ्नु किताब–चरा” (३२) भन्ने हरफले शिक्षा आर्जन गर्नु निकै रमाइलो हुन्छ ; शिक्षाले ज्ञानको उज्यालो छर्दछ र ज्ञान प्राप्त गर्दा जिन्दगीमा नयाँपन छाउँछ भन्ने भाव प्रकट गरेको पाइन्छ ।
     अन्ततोगत्वा, कुनै पनि साहित्य लेखनलाई तत्कालिन समयको पृष्ठभूमिले धेरथोर प्रभाव पारेको हुन्छ नै । देवकोटा आफैमा सामाजिक प्राणी भएकैले पनि उनी आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, प्रशासनिक बातावरणबाट प्रभावित थिए र तिनै प्रभावहरुले गर्दा उनका रचनाहरु पनि त्यत्तिबेलाको समय र पृष्ठभूमिभन्दा भिन्न हुन सकेका छैनन् । त्यसैले, देवकोटाका बालकवितामा पनि नेपाली इतिहासको एउटा सूक्ष्म कालखण्ड छ, सामाजिक जीवनशैलीको दर्पण छ, प्रशासनिक अस्तव्यस्तताको चित्रण छ, जिन्दगीको उत्कर्ष भोगाइ छ । संक्षेपमा भन्नुपर्दा, देवकोटाका बालकविताहरुमा व्यक्तिगत र प्रशासनिक वितृष्णा जस्ता जटिल विषयबस्तु पनि छन् जुन विषयबस्तु बालवालिकाको मस्तिष्क पहुँचभन्दा बाहिर छन् ।

सन्धर्भ सामाग्री
  1गौतम, लक्ष्मणप्रसाद. सान्दर्भिक समालोचना. काठमाण्डौ : भुँडीपुराण प्रकाशन, २०६८ ।
  2वर्डस्वर्थ, विलियम. वर्डस्वर्थ सेलेक्टेड पोइट्री एन्ड प्रोज, फ्रम द प्रिफेज अफ लिरिकल ब्यालेड, यु.के. : अक्सफोर्ड युनिभर्सिटी प्रेस, सन् १९६४ ।
  3देवकोटा, लक्ष्मीप्रसाद. सुनको बिहान. काठमाण्डौं: साझा प्रकाशन, २०६४ ।




0 comments:

Post a Comment

My Youtube Channel

1. +2 Content

Blog Archive

Page Views

Powered by Blogger.